विराटनगर । अन्तराष्ट्रिय अनलाइन जुवा खेलमा नेपालमै बसेर सहजीकरण गर्ने दुई जना मोरङको पथरीबाट पक्राउ परेका छन् । उनीहरू बारे साइबर ब्युरोको सहयोगमा अनुसन्धान गरिने भएको छ । पथरीशनिश्चरे नगरपालिका–९ स्थित गुम्बाटोलमा बसेर अनलाइन सट्टेबाजी खेल खेलाउन प्रयोग भएका दुई युवकलाई सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दै आएको हो। स्थानीय शान्तिराम खरेलको घरमा अनलाइन जुवा खेलाइने गरेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय पथरीले छापा मारेको थियो ।
२४ वर्षीय खरेलले स्थानीय १९ वर्षीय टंकबहादुर थापाको सहयोगमा अनलाइन जुवामा सहजीकरण गरेको पाइएको प्रहरीले जनाएको छ । अन्तराष्ट्रिय अनलाइन जुवालाई बिभिन्न साइटबाट क्यासिनो जस्तो खेल हुने गरेको र यहाँ बसेर खेलका लागि कर्मचारीका रुपमा खरेल र थापाले सहजीकरण गरेको पाइएको प्रहरीको भनाइ रहेको छ ।
उनीहरूले विदेशीको फेसबुक आईडी प्रयोग गरेर जुवा खेलाउने गरेको र अन्य देशका जुवाडेलाई नयाँ आईडी र पासवर्ड पठाउने गरेको पाइएको पथरीका नायव उपरीक्षक मोहनबिक्रम दाहालले बताएका छन् । पक्राउ परेका युवाले प्रयोग गरेको ल्याप्टप र मोबाइल प्रहरीको बरामद गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोबाट थप अनुसन्धान गरेर आईटीका विज्ञसँग परामर्श लिएर मुद्दा चलाइने प्रहरीले जनाएको छ ।




















