राजविराज ,सोमबारदेखि राजविराजको विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै मुलुकका १० वटा आन्तरिक विमानस्थलमा अब रात्रिकालीन उडान हुने भएको छ। 

सोमबार काठमाडौंबाट दिउँसो गएको बुद्ध एयरको एटीआर-७२ विमानले राजविराज विमानस्थलबाट साँझ ८:२० बजे काठमाडौंका लागि उडान भरेको थियो ।

साँझ ६ बजेर ३० मिनेटका लागि तय गरिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आउन ढिला भएपछि राजविराजबाट काठमाडौंको उडान  ढिला भएको हो ।


राजविराज विमानस्थलका प्रमुख ध्रुवराज श्रेष्ठका अनुसार रात्रिकालीन उडानका लागि यात्रुसहितको बुद्ध एयरको जहाज सोमबार साँझ ५:१५ बजे राजविराज विमानस्थलमा अवतरण भइसकेको थियो । मन्त्री पाण्डेको उपस्थितिमा औपचारिक कार्यक्रम गरेर ६ :३० मिनेटमा बुद्धको जहाज रात्रीकालीन उडान गर्ने समय तालिका मिलाएको थियो । मन्त्री पाण्डे समयमा नआएपछि तोकिएको समय तालिका परिवर्तन गरिएको थियो।भने यसअघि न्यूनतम ५ हजार मिटर भिजिबिलिटीमा मात्रै उडान हुने गर्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रि उडानका लागि धावनमार्गमा जहाजलाई दिशानिर्देश गर्ने 'लाइट सिस्टम' जडान गरेपछि अब न्यूनतम २ हजार मिटर भिजिबिलिटीमा पनि दिउँसो वा राति उडान सम्भव हुने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भरतपुरबाहेक तराईका सबै विमानस्थल रात्रीकालीन उडान अवतरण गर्ने अवस्थामा रहेको बताउँदै केही दिनभित्रै सुर्खेत विमानस्थललाई पनि रात्रीकालीन उडानका लागि योग्य बनाइने  समेत  बताए ।