काठमाडौँ ,नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । गत शनिबारदेखि त्रिवि अन्तराष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरमा जारी एनपीएलमा अनलाइनट सट्टेबाजी चलाएको आरोपमा प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार एनपीएलमा स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एपबाट त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाजीमा संलग्न भएकोमा उनीहरूलाई पक्राउ गरिएको थियो ।
उनीहरूविरुद्ध सट्टेबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान भइरहेको बोगटीले जनाएका छन् । पक्राउ पर्नेहरूमा कोलकाताका सुमन घोष, उत्तर प्रदेश कानपुरका अमित यादव, बिहार सहरसाका सुमन्त कुमार र ब्रजेश कुमार रहेका छन् ।
चारै जनालाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको एसपी बोगटीले जनाए । उनीहरूको साथबाट भारतीय आधार कार्ड ४ थान र ६ वटा मोबाइल बरामद गरिएको  प्रहरीस्रोतले जनाएको छ ।