विराटनगर।सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभावले उपभोक्ता बजारमा बाक्लो  देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्ने गरेका छन्। 

पछिल्लो दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला रू एक लाख ५१ हजार तीन सय कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशङ्काकाबीच सरकारले भन्सार दर घटाएको हो ।