विराटनगर।कोशी प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितले २०८१ साल चैत्र १० गते कोशी प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने भएको छ। संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर कोशी प्रदेश नामाङ्कन विरुद्ध चैत्र १० गते विराटनगर स्थित कोशी प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने घोषणा गरेको छ। प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका  नेताहरूले पत्रकार सम्मेलन गरेका थिए ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, पहिचानवादी मोर्चाका सदस्य सचिव गोपाल किराती, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन “मिराक”, जनता समाजवादी पार्टी नेपाल प्रदेश नं. १ का अध्यक्ष दीपक याक्खा, जनता समाजवादी पार्टी सम्बद्ध किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङीमी शेर्पा र राष्ट्रिय उन्मुक्ति पार्टीका सह-महासचिव पदम अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत कोशी प्रदेश सभाका ८२ सांसदलाई गल्ती सच्याउन चैत्र १० गतेसम्मको अल्टिमेटम दिएका छन् । कोशी प्रदेश सभाका ८२ सांसदलाई कोशी प्रदेश नामाङ्कनको समर्थनमा गरेको हस्ताक्षर फिर्ता लिन चेतावनी दिदै । कोशी प्रदेश नामाङ्कन हुँदा ८२ सांसदले हस्ताक्षर गरेका थिए । ८२ सांसद बाहेक नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, योगेश भट्टराई र महेश बस्नेतलाई हस्ताक्षर फिर्ता गराउन सहयोग गरिदिन सुझाव दिएका छन् । ८२ सांसदले चैत्र १० गते भित्रमा कोशी प्रदेश नामाङ्कनको समर्थनमा गरेको हस्ताक्षर फिर्ता नलिएको खण्डमा उनिहरुलाई कारवाही गर्ने संघर्ष समितिले चेतावनी सहित दिएका हुन् । संघर्ष समितिले कोशी प्रदेश नामाङ्कन घोषणा भएको दिन फागुन १७ गते विभिन्न कार्यक्रम गरेर अँध्यारो दिनको रुपमा मनाउने कार्यतालिका सार्वजनिक गरेका हुन् । कोशी प्रदेश नाम लेखिएको लेटर प्याड र छाप प्रयोग नगर्न मन्त्रालयदेखि कार्यालय प्रमुखलाई सुझाव समेत दिएका छन् ।चैत्र १० गते भित्रमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको माग पुरा नभएको खण्डमा थप आन्दोलन गर्ने कार्यक्रमको घोषणा गरेका छन् ।