लक्ष्मी पोखरेल
विराटनगर - ३
स्रष्टत्वको अस्तित्व
हावाको झोका झैँ
जता पनि
उन्मुक्त भएर हिँड्छ
आफ्नो ज्ञानको
कल्पवृक्षले
सुवास दिँदै
सरल शब्दहरूको
सङ्गठन बनाई
मनमा सजाएर
उन्मुक्त भएर पुग्छ
फाँटबेँसी हुँदै
मानव मष्तिष्कमा
क्यामराले कैद गर्दै
विचार
बेलगाम पोखिन्छ
कुरूप परिस्थितिमा पनि
विजयको माला
पहिराइदिएर
विकृति
विसङ्गतिमा उभिन्छ
विभेद
र अराजकताको
जरो उखेलेर
सत्यताको विगुल फुक्दै
दरिला खम्बाहरूलाई ढालिदिन्छ
हृदयको ज्वारभाटा
तरङ्गित पार्दै
आजाद पन्छीझैँ
उन्मुक्त भएर उड्छ
आफैँलाई बिर्सिएर
अस्तित्वधर्मले
सीमारेखामा बस्दैन
सीमा स्रष्टत्वमा हुन्न !!




















